बारा । कृषी क्षेत्रमा प्रविधिको प्रयोगले कृषकहरुको लागत घटेको छ । चैते धान लगाएका किसानहरुले प्रविधिको प्रयोगले खर्च कम हुने र बर्षा छल्न समेत सजिलो हुने भएपछि प्रविधिको प्रयोग बढेको हो ।
प्रसौनी गाउपालिका ७ निवासी मनिष मिया अन्सारीले मानिस लगाएर धान काट्दा भन्दा दोब्बर कम खर्चमा काट्ने, कुट्ने र सफा गर्ने काम हुदा कम्पाईन हार्भेस्टर मेशिन कृषकहरुका लागि उपयोगी बनेको बताउनु भएको छ ।
युवाहरु विदेश पलायन र कृषी मजदुर नपाईने गरेको समयमा कम्पाईन हार्भेस्टर मेशिन उपयोगी भएको अर्का किसान ईनल प्रसाद यादबको भनाई छ ।
खेतमा रहेको बालीहरुलाई तत्काल तयारी बनाएर बेच्ने अबस्थामा बनाउने गरेको कम्पाईन हार्भेस्टर मेशिनको प्रयोगले लागत घटाएपछि कृषकहरु लाभान्वित बनेका छन ।
हार्भेस्टर मेशिनका सञ्चालक रामपुकार साह तेलीले कम खर्चमा तत्काल धान गहु मकै काट्ने कुट्ने सबै गरेर सफा बनाउने गरेकोले मेशिन उपयोगी बनेको बताउनु भएको छ ।
कृषी पेशामा आधुनिकीकरण हुन नसक्दा किसानहरुको लागत बढेर मुनाफा कम भईरहेको समयमा हार्भेस्टर मेशिनले किसानहरुलाई थोरै भएपनि राहत प्रदान गरेको छ ।