काठमाडौं : बंगलादेश जाने नेपाली फुटबल टोलीको आज बिदाइ भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली फुटबल टोलीको विदाइ गरेको छ।
खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले बिदाइ गरेका थिए। २५ खेलाडीसहित सात जना अफिसियलहरु आज बंगलादेश प्रस्थान गरेका हुन्। खेल नोभेम्बर १३ र १७ मा ढाकामा हुँदैछ।
‘लामो समयपछि हामीले फुटबल खेल्न पाउँदा उत्साही छौं। मैदानमा टीम सदस्यहरु भेट्दा एकदमै उत्साहीत छौं। महामारीको अवशेष पनि दिमागमा पक्कै भइरहेकै छ,’ कप्तान किरण चेम्जोङले भने।
दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षकको जिम्मेवारी पाएका बालगोपाल महर्जन सुरुमा फिटनेसमा समस्या देखिएको भए पनि खेल सुरु हुने दिनसम्म टिमसेट मिल्नेमा आशावादी सुनिए।
‘सर्वप्रथम त पहिलो सेसनमा जुन कमीकमजोरी थियो फिटनेसको, ट्रेनिङहरु भइरहेको थिएन। त्यसले केही हदसम्म समस्या देखिएको थियो। एकहप्ताको ट्रेनिङपछि आजको जुन ट्रेनिङ छ केही सुधार देखिएको छ फिटनेसमा,’ प्रशिक्षक महर्जनले भने, ‘त्यस्तै टेक्निकल्ली र ट्याक्टीकल्ली पनि केही सुधार आएको छ। अब हामी बंगलादेश जाँदा पनि त्यहाँ पनि एकहप्ता ट्रेनिङ गर्ने मौका छ। त्यसले गर्दा खेल्ने समयसम्म फिट हुन्छौं र राम्रोसँग सेट हुन्छौं भन्ने आशा छ।’
पछिल्लो समय गराएको ट्रेनिङमा नौलो अनुभव भएको उनले सुनाए। त्यसमा पनि पहिलो रोजाइमा पर्ने केही खेलाडीहरु कोरोना संक्रमित पाइएपछि टिमसेट कस्तो हुने हो भन्नेमा उनी गम्भीर सुनिए। ‘पहिलो ११ का खेलाडीहरु पनि कोभिड संक्रमित हुँदा अलिकति केही हदसम्म बाधा तर यो टिम गेम भएकाले अरु खेलाडीहरु पनि फुटबलमा १९/२० हुन्छ। कहिले मलाई चान्स आउला भनेर कुरेर बसेको खेलाडी पनि हुन्छ। त्यसैले धेरै समस्या नहोला,’ उनले थपे, ‘साउथ एसियन रिजनकै टिमसँग खेल्न गइरहेकोले धेरै समस्या नहोला भन्ने छ।’
त्यस्तै, त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहेका राष्ट्रिय टिमका खेलाडी भरत खवास नयाँ खेलाडीहरुमा सम्भावना देख्छन्। लामो समय पछि मैदान फर्कन पाउँदा आफुहरु खुशी भएको भन्दै खवासले अभ्यास नहुँदा पनि खेलाडीहरुले इण्डिभिजुअल ट्रेनिङ गरेकाले फिटनेस धेरै बिग्रन नपाएको बताए।
‘टिममा धेरै नयाँ खेलाडीहरु छन्। उनीहरुले राम्रो गरिरहेको छ। अहिले धेरै समय ग्याप भयो। तरपनि हामीले छोटो समय ट्रेनिङ गर्ने मौका पायौं। त्यसको लागि समय अलि अभाव भयो की भन्ने अनुभव हुन्छ,’ उनले भने, ‘तर पनि हाम्रो राष्ट्रिय खेलाडीहरु ए डिभिजन खेलिसकेपछि घरमा बसेर इन्डिभिजुअल ट्रेनिङ गरिरहेका थिए त्यसले गर्दा धेरै कुरामा फाइदा पुगेको छ। पहिला जस्तो १०० प्रतिशत नहोला तर त्यसले धेरै हदसम्म काम गरेको छ।’
त्यस्तै टिमबारे खवासले भने: हाम्रो नयाँ आएका खेलाडीहरुसँग एक्सपेक्टेसन एकदमै हाइ छ। किनभने उनीहरुसँग पोटेन्सियल छ। प्रतिभावान खेलाडीहरु छन्। उनीहरुले अझ मेहेनत गरे टिम धेरै राम्रो हुनसक्छ।
नेपाली टिम
अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दहाल, शेसेहाङ आङ्दम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ