अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता असोज ७ गतेदेखि

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 690 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा ÷ बाराको सिमरामा असोज ७ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक सिमरा भेट्रान्स क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी असोज ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।


स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुदै आएको ४०बर्ष माथि उमेर समूहको प्रतियोगितामा यस वर्ष बंगलादेश, भारत र नेपालका गरी १२ टिमले सहभागिता जनाउने संयोजक हरी चौधरीले जानकारी दिए ।

‘मधेस प्रदेशको शान, भेट्रान खेलाडीप्रति उच्च सम्मान’ भन्ने नाराकासाथ सिमरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्ने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५५ हजार प्रदान गरिने संयोजक चौधरी बताउनु भयो ।


पत्रकार सम्मेलन सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउतको अध्यक्षता तथा बारा जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिब हाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब लगायतले सहभागिता जनाउने छन ।

त्यसैगरी साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहने जनाईएको छ ।

जगदम्बा स्टील्स प्रालिको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल लगायतका संघसंस्थाको सहयोग रहने जनाईएको छ । प्रतियोगिता आयोजना गर्न करिब २४ लाख ३९ हजार खर्च हुने अनुमान गरिएको राउतले बताए ।

सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, सगरमाथा इन्स्योरेन्सकी रुकु पाख्रीन लगायतले मन्तब्य ब्यप्त गरेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार प्रदिप गौतमले गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ताले आफ्नो स्वर्गीय आमा मञ्जुदेवीको स्मृतिमा भेट्रान फूटबल प्रतियोगिताको सुरुवात गराएका हुन । तेस्रो संस्करणसम्म आउँदा प्रतियोगितामामा विभिन्न संघसंस्था सहयोगीको रुपमा जोडिन थालेपछि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content