कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई पुनः अर्को भ्रष्टाचार विरुद्धको मुद्दा दायर भएको छ ।
अख्तियारले आज प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएपछि बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी सहित पाँच जना विरुद्ध भ्रष्टाचार विरुद्धको मुद्दा दायर गरेको हो ।
यस अघि पनि अख्तियारले प्रमुख मरासेनी र लेखा अधिकृतलाई अर्को भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सफ्टवेयर खरिदमा अनिमितता गरेको भन्दै आयोगले मरासेनीसँगै लेखा अधिकृत चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले आज सिम्रौनगढ नगरपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मरासनी, लेखा अधिकृत चौधरी, उपभोक्ता समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादव विरुद्ध मुद्दा दायर गरेको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्वर ८ कचोर्वा स्थित जनता माविको भवन निर्माण वापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा मुल्याङकन भन्दा बढी रकम दिएर अनियमितता गरेको आरोप अख्तियारको छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुले निर्माण काममा खर्च र मुल्याङकन भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बढी भुक्तानी दिएको देखिएको छ ।
यस अघि सिम्रौनगढ नगरपालिका बाराको आ.व. २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणाली समेतको सफ्टवेयर खरिद तथा जडान र विस्तार गर्ने कार्यका लागि मरासेनी, चौधरी र यादवले टिप्पणी पेस तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार ८ सय ९७ भुक्तानी गरेको तर उक्त सफ्टवेयर प्रयोग नगरी सरकारी सम्पत्तिमा हानी पुराएको भन्दै मुद्धा दायर गरेको थियो । उनीहरूलाई उक्त रकम बराबरकै बिगो कायम गरी सजायको माग दाबी गरिएको छ ।