सिमरा । समग्र खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले काम गरिरहेको नगरप्रमुख राजन पौडेलले बताएका छन । अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताप्रतियोगिताको उद्धघाटन गर्दै नगरप्रमुख पौडेलले सो कुरा बताएका हुन । उनले खेल क्षेत्रको विकास हुन सके राष्ट्रिय अन्तराष्ट्रिय जगतमा पालिकाको नाम उच्च हुने बताउनु भयो ।
प्रतियोगिता अन्तर्गत आज सोमबार दुई खेल हुनेछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान काठमाडौं भिड्नेछन् ।
यस अघि आईतबार भएको खेलमा आयोजक सिमरा भेट्रान क्लब दिपेन राईको ह्याट्रिकको मद्यतले अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा नवलपरासीको अभिषेक चर्च भेट्रान क्लबलाई ४–२ ले पराजित गर्दै आयोजक विजयी बनेको हो ।
आयोजकको जितमा राईले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । निर्धारित ६० मिनेटको खेलमा राईले २६, ३८ र ४५औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि चौथो गोल गोपीप्रसाद भट्टले गरे ।
अभिषेक चर्चका लागि यमु राना र हरिबहादुर महतोले एक–एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच आयोजकका राई घोषित भए ।
प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, अखिल नेपाल फूटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामा, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा लगायतको उपस्थिती रहेको थियो । सिमरा भेट्रानका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप गौतले गरेका थिए ।
असोज १३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष बंगलादेश, भारत र नेपालका १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको संयोजक हरी चौधरीले इशिलालेखलाई जानकारी दिए । प्रतियोगिताको अनुमानित खर्च २४ लाख ३९ हजार अनुमान गरिएको छ ।