बारा । बारा निजगढका समिर तमाङको मद्धतले माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
समिर एक्लैले दुई गोल गरेका हुन । सामान्य गरिब परिवार निजगढ ८ मा जन्मिएका समिरले अहिलेसम्म कतैबाट सहयोग र सपोर्ट पाएका छैनन । निजगढ गौरी शंकर उच्च माविको प्राङगणमा खेल्दै आएका समिरको उत्कृष्ट प्रदर्शनले अहिले सामाजिक सञ्जालमा बधाई पाई रहेको छ ।
घरेलु दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएपछि समिरको उचाई बढेको छ ।
समिरले २९ मिनेटमा र अतिरिक्त समय ९५ औं मिनेटमा गरी दुई गोल गरेका हुन ।
खेलको सुरुदेखि नै दबाब बनाएको नेपालले समिरले बाहेक थप दुई गोल गरेका थिए । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । आफ्नो अन्तिम खेलमा भारतले भुटानलाई २–१ गोलले हराएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो ।
भारत समूहका दुवै खेल जितेर विजेता बनेको हो । यता सोमबार भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले हराएर नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो । आफ्नो समूहमा नेपाल उपविजेता बन्यो । नेपाल रहेको समूहको विजेता पाकिस्तानले सेमिफाइनलमा भुटानसँग खेल्नेछ । सेमिफाइनलका दुइटै खेल बुधबार हुनेछ ।