बारा । १४ बुँदे माग राखेर स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुरु गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै बाराका स्थानीय तहहरुमा आज भएको पेन डाउन र धर्ना कार्यक्रम भएको छ । धर्नाले सेवाग्राहीहरु मारमा परेका छन ।
जिल्लाको निजगढ, कोल्हबी, जीतपुरसिमरा, कलैया लगायत १६ वटै स्थानीय तहमा कार्यरत कर्मचारीले पेन डाउन गरेका छन । आईतबार कार्यालय खुल्ने समय बिहान १० देखि ५ बजेसम्म आन्दोलनलाई समर्थन जनाउँदै पेन डाउन र धर्ना गरिएको जीतपुरसिमराका प्रशासन शाखाका कर्मचारी रामेश्वर बन्जाराले बताए ।
पालिकाको विषयगत शाखामा कार्यरत कर्मचारीहरुले कार्यालय प्राङ्गणमा धर्ना समेत दिएका थिए ।
यता निजगढ नगरपालिकामा पनि पेन डाउन र धर्ना कार्यक्रमले निजगढका सेवाग्राहीहरु समेत मारमा परेका छन । १४ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनु पर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषा भित्र समेटिनु पर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने लगायत माग गर्दै कर्मचारीहरु आन्दोलित छन् ।
संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरेको कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ ।