निजगढ । विपद्को समयमा कसरी सुरक्षित हुने भन्ने उद्धेश्यले बाराको निजगढमा विपद् सम्बन्धि नमुना प्रदर्शन गरिएको छ ।
निजगढ नगरपालिकाको समन्वयमा जिल्ला विपद व्यवस्थापन समिति बाराले शनिवार वडा नम्बर ४ को नयाँवस्तिमा सशस्त्र प्रहरी र नेपाली सेनाद्वारा विपद्मा परेकाहरुको उद्धार र विपदको बेला गरिने कार्यको अभ्यास सम्बन्धि नमुना प्रदर्शन भएको हो ।
आगलागी, बाढी र डुवान जस्ता विपद्का घटनालाई लक्षित गरेर गरिएको प्रदर्शनीमा विपद् अघि र विपद् पश्चात् पीडित सर्वसाधारणको कसरी उद्धार गर्ने भन्ने विषयमा सिकाइएको थियो ।

कार्यक्रम समापन कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अभ्यासले विपदमा परेका नागरिकको जीउ धनको सुरक्षामा ठुलो मद्दत पुग्ने बताउनु भएको छ । उहाँले समितिले जिल्लाका सबै पालिकामा विपद् सम्बन्धि अभ्यास र प्रदर्शन गरिने बताउदै पालिकाहरुले पनि यसको लागि आवश्यक योजना बनाएर काम गर्नु पर्नेमा जोड दिनुभयो । प्रदर्शनले विपद्बाट हुने क्षति न्युनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।

विपद्मा परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पु¥याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।
समापन कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले विपद ब्यबस्थापनका कारण केही समय अघि उद्धार हुन सकेको बताउदै सबै मिलेर विपदमा धैर्यकासाथ काम गर्नुपर्ने बताउनु भएको थियो ।

ग्यास पड्केको, आगलागि, पानीमा डुब्दा गरिने उद्धारका बारेमा प्रदर्शनीमा नमुना अभ्यास गरेका थिए भने विपदमा परेकाहरूको उपचार तथा व्यवस्थापन अभ्यास पनि गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, उपसभापति चन्डिका उप्रेती सापकोटा, बाराका १६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, स्थानीय बिद्यार्थी अभिवावकहरुको उपस्थिति रहेको थियो ।