बारा / जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युटको भुकम्पमा परी नलगाढ नगरपालिका, जाजरकोटका उपप्रमुख सरिता सिंह सहित डेढ सय बढीको मृत्यु र धेरै धनजनको क्षति पुगेपछि बाराको निजगढ नगरपालिकाले भुकम्पबाट प्रभावित नागरिकहरुलाई राहत तथा औषधि उपचारको सहयोग गर्ने घोषणा गरेको छ ।
नगर कार्यपालिकाको निर्णय बमोजिम निजगढ नगरपालिकाको आ.ब. २०८०/२०८१ को स्वीकृत बार्षिक योजना तथा कार्यक्रममा रहेको विपद व्यवस्थापन शीर्षकमा विनियोजित रकमबाट पाँच लाख सहयोग रकम उपलब्ध गराउन लागेको हो ।
नगर प्रमुख सुरथ पुरीले सोमबार विज्ञप्ती निकालेर ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन । बक्तव्यमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उक्त भुकम्पमा परी घाईते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । नगरपालिकाले भुकम्प पिडितहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन समेत सम्पूर्णमा हार्दिक अनुरोध समेत गरेको छ ।
नगरपालिकाले भुकम्पबाट प्रभावित नागरिकहरुलाई तत्काल राहतको व्यवस्थापन तथा घाईतेहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउनका लागि नेपाल सरकार समक्ष माग समेत गर्नु भएको छ ।