लिटिल बुद्धका नामले ख्याती कमाएका तपस्वी राम बहादुर बम्जन पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 578 - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय
निजगढ । बारा जिल्लाको निजगढ स्थायी घर भएका ‘तपस्वी’ राम बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले काठमाण्डौबाट पक्राउ गरेको हो ।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी गर्दै आएको थियो ।
बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको भएपनि पक्राउ गर्न सकेको थिएन । मध्य तराईको निजगढको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले २०६१ सालदेखि एकाएक चर्चा बटुलेका हुन । १६ वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो । आँखा बन्द थियो । र उनी ध्यानमा लीन थिए । त्यसअघि कसैले नचिन्ने किशोर एकाएक विश्व प्रसिद्ध बन्न पुगेपनि पछि बलत्कारको आरोप पछि प्रहरीबाट फरार हुदै आएका थिए ।
सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए । त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले । उनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष भाइरल हुन पुगेको थियो । उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान खिच्न सफल भएको थियो ।
उनै रामबहादुर बमजन करिब १३ वर्षपछि उनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको विवरणहरू पहिलो पटक सेतोपाटी डिजिटल पत्रिकामा आएको थियो।
बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघले एक विज्ञप्ति निकाल्दै, सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरेको छ ।
बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो । उनका ५ छोरा र ४ छोरी छन । रामबहादुर तेस्रो छोरा हुन ।
शुरुदेखिनै माछा मासु नखाएका उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्य चकित बनाएको बताइन्छ ।
बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहेको र अहिले बुद्धत्व प्राप्त भएको बताउदै आएका छन । उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए ।
तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारले जनाएका थिए । १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए ।
तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको थियो । अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा–पताकाले सुसज्जित गरेपछि उक्त स्थानमा अहिलेपनि पुजा आजा र धार्मिक स्थलमा परिणत हुँदै आएको छ ।  नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरेपनि उनको पछिल्लो आरोपले उनी गुमनाम हुदै आएका थिए ।
बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरी अधिकारीहरूले बताएका छन ।

आरोपहरू के छन ?

बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै बमजन माथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ ।
हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबा लगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको भनेर उजुरी परेपछि उनी विरुद्धका आरोपहरू थप पेचिलो बन्दै गएको हो ।
आश्रममा बस्ने गरेका दुई जना अनुयायी खोजी गरिदिन प्रहरीमा उजुरी परेको छ । प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबा छन ।
त्यस्तै बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराई रहेका आफन्तको खोजी गरिदिन प्रहरी कार्यालयमा उजुरी दिएको विवरणहरू सार्वजनिक भएको छ ।
ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ बर्षिय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन । त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन ।
तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । ‘लिटल बुद्ध’का नामले चिनिएका उनीमाथि नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी बेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्र बाइबाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका थिए ।
२०६९ सालदेखि २०७२ सालको बीचमा चारै जना बेपत्ता भएको बताइएको छ । पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएर बम्जनविरुद्ध थप आरोपहरू सहित प्रहरीमा उजुरीहरू परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको थियो ।
शेयर
प्रतिक्रिया
Skip to content