तपस्वी रामबहादुर बम्जन पुर्पक्षमा कारागार चलान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 323 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सर्लाही । तपस्वी रामबहादुर बम्जन पुर्पक्षमा कारागार चलान भएका छन । सर्लााही जिल्ला अदालतले बलात्कार आरोपित ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण मुद्दामा आज थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन ।

अदालतको आदेश अनुसार बम्जनलाई आज साँझ महोत्तरीको जलेश्वर कारागार चलान गरिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिनु भएको छ ।

सर्लाहीमा कारागार नभएकाले बम्जनलाई जलेश्वर कारागार लगिएको हो । बम्जनलाई प्रहरीले गएराति मात्रै काठमाडौँबाट सर्लाही ल्याएर आज बिहान जिल्ला अदालतमा पेश गरेको हो ।

‘लिटिल बुद्ध’ समेत भनेर चिनिएका बम्जनलाई सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो । ती बालिकालाई बम्जनले २०७३ साल साउन २० गते राति ललाइफकाइ प्रलोभन देखाइ आफू सुत्ने कोठामा लगेर विभिन्न किसिमको डर, त्रास, धाक, धम्की देखाइ बोल्न कराउन नदिइ यौन सन्तुष्टि लिनको लागि जवरजस्ती करणी गरेको र त्यसपछि पनि बालिका एक्लै भएको मौका छोपेर पटक–पटक करणी गरेको दायर मुद्दामा उल्लेख छ ।

घटना भएको बेला बालिका १५ वर्षको भएपनि १८ वर्ष भएपछि २०७६ साल माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उनले उजुरी दिएकी थिईन ।

बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको माग दाबीसहित अभियोग दर्ता भएको छ । विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले मङ्गलबार साँझ काठमाडौँको बुढानिलकण्ठ नगरपालिक–६, स्थित निवासबाट पक्राउ गरेको थियो ।

बम्जनलाई प्रहरीलाई अदालतमा ल्याएदेखि नै दिनभर समर्थक अदालत बाहिर धुप बत्ती बालेर बसेका थिए । समर्थक अत्यधिक उपस्थित भएकाले आज दिनभर जिल्ला अदालत परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content