नेपाली मिडिया साच्चिकैमा संकटमा रहेको छ – अध्यक्ष बस्नेत

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 428 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली मिडिया साच्चिकैमा संकटमा रहेको बताउनु भएको छ । उहाँले राजनैतिक दलहरुलाई समस्यामा परेका समयमा नेपाली प्रेसले अग्रणी भुमिका खेलेपनि सरकार प्रेसको घाटी रेट्ने कि बचाउने भन्ने हो बताउदै सुबिधा कटौतीमा सरकार लागि परेको आरोप लगाउनु भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा शनिबार निजगढमा सम्पन्न संचार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सो कुरा बताउनु भएको हो ।

सरकारले बनाउन लागि रहेको सञ्चार कानुन नाम फेरेर मात्र नहुने बताउदै अध्यक्ष बस्नेतले प्रेस काउन्सिल नेपालको ऐन पुरानो भएको अबस्थामा तीन चार महिनामै काउन्सिल ऐन सम्शोधन गरेर सञ्चार क्षेत्रको समस्या समाधान गर्न सकिने भएपनि अर्को सञ्चार कानुनको आवश्यकता नरहेको बताउनु भयो ।

अध्यक्ष नेपालले सरकारले लोक कल्याणकारी विज्ञापन कटौती गर्न लागिरहेको हो भने त्यसो गर्न नहुने बताउनु भएको छ । सरकारले बजेट कटौती भन्दा सबै सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनु पर्ने बताउनु भयो । सरकारले बजेट दिए सबै सञ्चार माध्यम र सामाजिक सञ्जालको अनुगमन र नियमन गर्न प्रेस काउन्सिल सक्षम रहेको बताउनु भयो ।

संचारमाध्यमको संरक्षणमा तीनै तहका सरकारसँगै विशेषगरी स्थानिय सरकारको भुमिका अहम हुने उहाँले बताउनु भयो । अहिले स्थानीय तहको ७० प्रतिशत भन्दा बढी अनियमितता हुने गरेको जानकारी आएकोले खोज्नु पर्ने बेला आएको उहाँले बताउनु भयो ।

मिडियाहरु चल्नै नसक्नेगरी धरासायी हुँदा त्यहाँका जनताको सुचना पाउने अधिकार बन्चित हुन जान्छ । लगानी गर्ने, संचालन गर्ने ब्यक्ति होलान । तर मिडिया सँधै जनताका साझा भएको उहाँले बताउनु भयो । यसलाई बचाई राख्नसरकार सँधै जिम्मेवार बन्नु पर्ने उनको भनाई थियो । अध्यक्ष बस्नेतले कतिपय कानुन पत्रकार र मिडिया मैत्री नहुँदा समस्या भैरहेको भन्दै त्यस्ता खाने कानुन परिमार्जनका लागि काउन्सिलले सहजीकरण गरिहेको बताए ।

राजनैतिक दल र नेताहरुले सत्तामा हुँदा र बाहिर हुँदा मिडियालाई फरक ढंगले चित्रण गर्ने गर्दा पनि समस्या हुँदै आएको बताए । देशको परिवर्तनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र पत्रकारका सवालमा राज्य संवेदनशिल नबनेको बताउनु भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर प्रसाद बेलबासे, मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाँई, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी सहभागि थिए । यस्तै बाराका अध्यक्ष रेशम तीवारी, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह र कमल कुमार उपाध्याय, सर्लाहीका अध्यक्ष टंक क्षेत्री सहित बारा पर्सा, रौतहट र सर्लाहीका सकृय पत्रकारहरु, विभिन्न संचारसम्बद्ध संगठनका अध्यक्ष, संचार माध्यमका संचालकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

निजगढमै कृपा दैनिकको २१औ बार्षिकोत्सब समारोह सम्पन्न भएको छ । कृपा दैनिकका सम्पादक गोकुल घोरसाईनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले प्रमुख अतिथिकोरुपमा कृपा दैनिकबाट सम्मानित हुने सञ्चारकर्मीहरुलाई सम्मानित गरेको थियो ।

कृपा दैनिकले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा शनिबार बाराकी सक्रिय महिला पत्रकार शारदा पोख्रेल, रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुरलाई पुरस्कृत गरेको हो । कृपाद्वारा पोखरललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो भने महत र ठाकुरलाई ५० हजार राशीको उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट संयुक्तरुपमा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाई, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय लगायतले शुभकामना ब्यप्त गर्नु भएको थियो । कार्यक्रममा कृपा दैनिकले पूर्वसम्पादक राकेश पाण्डे र संवाददता पुष्पराज खतिवडालाई दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेको थियो ।

 

 

शेयर
प्रतिक्रिया
Skip to content