सिमरा । संघीय सरकारको निर्देशन अनुरुप बाराको बिभिन्न गाउँपालिका र नगरपालिकाहरुमा एघार अस्पतालको एकै पटक मंसिर १५ मा शिलान्यास हुने भएको छ । संद्धीय सरकारले ५,१० र १५ सैयाको आधारभुत अस्पताल निर्माणका लागि मंसिर १५ गते भवन शिलान्यास गर्न भनेपछि बाराका स्थानीय तहहरुमा हुने भएको हो । बाराको करैयामाई गाउँपालिका अन्तर्गत हरैया स्वास्थ्य चौकी, देवताल गाउँपालिका अन्तर्गत पिप्राढी स्वास्थ्य चौकी, प्रसौनी गाउँपालिका अन्तर्गत प्रसौनी स्वास्थ्य चौकी, बिश्रामपुर गाउँपालिका अन्तर्गत बिश्रामपुर स्वास्थ्य चौकी रहेका छन । त्यसैगरी बाराको निजगढ, कोल्हबी नगरपालिका तथा फेटा र सुवर्णपुर गाउँपालिकामा समेत अस्पताल भवन निर्माणको काम मंसिर १५ गते शिलान्यास गरिने बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले ती गाउँपालिका र नगरपालिकाहरुलाई कात्तिक २५ गते नै पत्राचार गरी स्वास्थ्य संस्था स्तरोन्ती गर्न बजेट नक्साको नमुना लगायत आवश्यक नीति निर्देशन दिएको बताइएको छ ।
आधारभुत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका २०७७ स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका २०७७ र भवन निर्माणको फोटो र लागत अनुमान समेत राखी प्रचलित कानून स्वीकृत मापदण्ड निर्देशिका बमोजिम अस्पताल निर्माणको प्रकृया शुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले यी नगरपालिकाहरुलाई ५÷१० र १५ शैयाको आधारभुत अस्पताल भवन निर्माण गर्न सशर्त अनुदानको रुपमा २ बर्ष भित्र भवन निर्माण सम्पन्न हुने गरी ठेक्का लगाई काम शुरु गर्न मंसिर ५ मै मन्त्रालयले निर्देशन गरेको हो । संघीय सरकारले देशभरका ३ सय ९६ अस्पताल स्तरउन्नती गर्ने निर्णयमा बाराका ९ स्थानीय तहका स्वास्थ्य संस्था स्तरउन्नती हुने भएका हुन् । प्रदेश सरकारको योजना अन्तर्गत पथलैयाको ट्रमा सेन्टर र उत्तर झिटकैयाको सरुवा रोग अस्पतालको गरी ११ अस्पतालको एकै पटक मंसिर १५ गते शिलान्यास हुने भएको हो ।