मंसिर १५, वीरगञ्ज । संघीय सरकारले यसवर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आएर आफूले उत्पादन गरेको धान बेच्दा खुशी भएका छन् ।
यसैगरी बारा धर्मपुरका किसान गगनदेवप्रसाद यादव कार्यालयलाई धान बेचेर एकमुष्ठ रकम पाउँदा उनको पनि खुशीको सीमा रहेन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले यही मंसिर ११ गतेदेखि धान खरीद गर्न थालेपछि बारा र पर्साका किसान अहिले आफ्नो पालो कहिले आउँछ भनेर पर्खिएर बसेका छन् ।
यसपाली संघीय सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा सोना मन्सुली धान आठ प्रतिशत बढी खरीद मूल्य तोकेपछि किसानले आफूले उत्पादन गरेको धान खाद्य व्यवस्था कम्पनीलाई धान बेच्न किसानको लर्को लागेको छ ।
यसवर्ष संघीय सरकारले सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ८८५ रुपियाँ र जिरा मसिनो धान प्रति क्विन्टल २ हजार ९०० मा खरीद गर्ने मूल्य तोकेपछि बारा पर्साका किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न पाएको पर्सा बैरियाविर्ताका किसान अवधेशप्रसाद गुप्ताले बताए।
धानको बोरा बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान बिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरीद गर्न थालिएको छ । कार्यालय प्रमुख विकास कटुवालले भने, “यस वर्ष राम्रै मूल्य पाएकै कारण सोचेभन्दा बढी किसान धान बेच्न आउने गरेका छन् ।” यसवर्ष सोना मन्सुली धान ३ हजार मेट्रिकटन र जिरा मसिनो धान ५०० मेट्रिकटन खरीद गर्ने लक्ष्य लिइएको छ । सरकारले यसवर्ष धान खरीदको समर्थन मूल्य बढाएपछि बारा र पर्साका किसान निजी गल्ला व्यापारीलाई धान नबेची संस्थानलाई धान बेच्न आउने गरेका छन् ।
सरकारले दिएको लक्ष्य अनुसार यसवर्ष ८ करोड ६५ लाख ५० हजार मूल्य बराबरको ३ हजार मेट्रिकटन सोना मन्सुली धान र १ करोड ४५ लाख मूल्य बराबरको ५०० मेट्रिकटन जिरा मसिनो धान खरीद गर्ने लक्ष्य राखेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए।
व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरीद गर्न थालेको छ । कार्यालयले धान खरीद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशतभन्दा बढी मिसावट नभएको र पाँच प्रतिशतसम्म बिग्रेको धान खरीद गर्ने गरेको छ ।
सो कार्यालयले धान खरीद गर्दा किसानको नागरिकता वा लालपूर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिस गरेको प्रतिलिपि भएमात्र धान खरीद गर्ने गरेको छ ।
त्यस्तै धान बेच्न आउने किसानले आफु किसान हुँ, कार्यालयलाई धान बेचेको भनेर घोषणा पत्रमा हस्ताक्षरसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षभन्दा यसवर्ष आठ प्रतिशतले बढी भएको छ भने जिल्ला प्राथमिक खरीद समितिले तोकेको जिरा मसिनो धानको मूल्य गत वर्षभन्दा यस वर्ष सात प्रतिशतले कम छ । रासस