बारा । बाराको सिमरामा हरेक बर्ष सञ्चालन हुदै आएको जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने भएको छ ।
आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नव जनजागृती युवा क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । सिमरा रङ्गशालामा फ्लड लाइटमा आगामी चैत्र २४ गते खेलकुदमन्त्रीले कार्यक्रमको उद्धघाटन गर्ने कार्यक्रम रहेको क्लबका सचिब शम्भुसिंह ठकुरीले बताउनु भएको छ ।
वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागि हुनेछन् । सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँचलाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने कार्यक्रममा पत्रकार सम्मेलन गरी जनाईएको छ ।
रात्री कालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत बर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने सचिब ठकुरीले बताउनु भयो । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सबैभन्दा बढी जीतपुरसिमरा उपमहानगरले रकम दिने भएपनि बिगत भन्दा यसबर्ष उद्योगहरुको सहयोगमा कमी आएको अध्यक्ष लामाले बताए । कम पैसा दिएपनि यसबर्षपनि प्रतियोगिताको मुख्य प्रायोजक जगदम्भा स्टिल रहेको छ । सम्मेलनमा पुर्व अध्यक्ष राजकुमार भट्टराई, सल्लाहाकार सुमन भट्टराई, धन बहादुर श्रेष्ठ, जगदम्भा स्टिलका कुमुद ठकाल, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायत क्लबका सदस्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।