करोडौको सार्वजनिक सम्पतिमा २० औ वर्षदेखि केही चुन्द्रेमुन्द्रको हालिमुहाली
बारा / जीतपुर सिमरा उपमहानगरले शनिवार सिमरा बजारमा सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउने भएको छ ।
उपमहानगरले सार्वजनिक सूचना निकालेर जीतपुर सिमरा अस्पताल क्षेत्रमा सार्वजनिक जग्गामा बनेका अवैध संरचना खाली गर्ने जनाएको हो ।
उपमहानगरले सार्वजनकि जग्गाको संरक्षण गर्ने अभियान अन्र्तगत पछिल्लो समय धमाधम अतिक्रमण भएका जग्गाहरुको संरक्षणको सुरुवात गरेको छ ।
उपमहानगरको वडा नं २ स्थित सिमरा बजारको सार्वजनिक जग्गामा बनेका करिव ३० वटा घर टहरा र वडा कार्यलयले बनाएको भवनका करिव ३० वटा सटर भोगचलन गर्ने सबैलाई संरचना खाली गर्न निर्देशन दिएको हो ।
उपमहानगरले साविक प्रिपासिमरा गाविसको नाममा श्रेस्ता कायम रहेको कित्ता नं ८१६ को १ बिगाहा १ कठ्ठा,कित्ता नं ८३१ को ३ कठ्ठा ४ धुर र कित्ता ८३२ को १५ कठ्ठा ३ धुर ८ कन्ना सार्वजनिक जग्गाभित्र अनधिकृत रुपमा बनेका घर टहराहरु हटाउन सार्वजनिक सूचना निकालेको छ ।
उपमहानगरले स्वस्फुर्त रुपमा संरचना नहटाए प्रशासनको सहयोगमा हटाउने र हटाउन लाग्ने सम्पुर्ण खर्च सम्वन्धित व्यवसायीसँग भराउने जनाएको छ ।
सो जग्गामा यसअघि शेख जाहिरले उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जमा उपमहानगरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उच्च अदालत वीरगञ्जका न्यायधिश द्धय हरिशचन्द्र ढुंगाना र खडानन्द तिवारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्दै सो रिट निवेदन खारेज गरेको छ ।