निजगढ । बाराको निजगढमा सञ्चालित तेश्रो मधेश प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक जनज्योति आधारभूत तेक्वान्दो डोजाङ निजगढ–९ टिम प्रथम भएको छ । प्रतियोगितामा आयोजक निजगढ सहित मधेश प्रदेशका ६ जिल्लाका ९ वटा टिमका करिब १५० खेलाडी सहभागी भएका थिए ।
आयोजक जनज्योति आधारभूत तेक्वान्दो डोजाङले आठ स्वर्ण , आठ सिल्भर र आठ ब्राउन्ज हात पार्न सफल भएको थियो । प्रतियोगितामा चार स्वर्ण पदक ल्याएर क्रियटिभ तेक्वान्दो डोजाङ बर्दिवास टिम दोश्रो भएका छन भने एक स्वर्ण एक सिल्भर र ८ ब्राउन्ज मेडल सहित प्रिया तेक्वान्दो डोजाङ जनकपुर तृतिय हुन सफल भए । १६ तौल समुहमा भएको प्रतियोगिता निजगढ नगरपालिका र वडा नं. ९ को आर्थिक सहयोगमा सम्पन्न भएको हो । प्रतियोगिताको उद्धघाटन र समापन निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले गर्नु भएको हो ।
प्रतियोगिताको समापन कार्यक्रममा नगरप्रमुख पुरीले खेलको विकासमा नगर खेलकुद विकास समितिलाई क्रियाशिल बनाएर निजगढको टिम तयारी गरी बन्द प्रशिक्षण दिन शुरु गर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले नगरपालिकाले खेल विकासको योजना बनाएर काम गर्न सके अझै फलदायी हुने बताउनु भएको थियो ।
डोजाङ प्रमुख राजु माझीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ, निजगढ नगरपालिका वडा नं. ९ का कार्यवाहक वडा अध्यक्ष बबिता श्रेष्ठ, वडा सदस्यहरु चित्र प्रसाद चौलागाई, इन्द्र कुमारी सुनार, जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक मनराज महतारा लगायतको उपस्थिति रहेको थियो ।