बारा । बारा निजगढ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक निजगढमा प्रथम निजगढ महोत्सव हुने भएको छ ।
आगामी माघ १२ गतेदेखि २२ गतेसम्म प्रथम निजगढ महोत्सव सञ्चालन गर्न लागिएको निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।
निजगढ– ९ खयर घारीको फूटबल खेल मैदानको चौरमा महोत्सव आयोजना गरिने निजगढ उद्योग संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शनिबार संघको सभा हलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले स्थापना भएपछिको यो पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको बताए । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने श्रेष्ठले बताए ।
कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने उनले बताए । निजगढमा रहेका विभिन्न मठ मन्दिर र पर्वत महादेव, मोहोरी, शिवशक्ति, निजगढ भिउ टावर लगायतको प्रचार प्रसारलाई समेत महोत्सवमा जोडिने उनले बताए ।
महोत्सवमा स्थानीयस्तरका विभिन्न समुदायको खानाको परिकारलाई प्रबद्र्धन गर्न करिव १ सय ५० वटा स्टल राखिने जनाएको छ । जसमध्ये स्थानीय परिकार, कृषि तथा हस्तकलाका सामाग्रीहरुको बजार प्रवद्र्धन गर्न चाहने स्थानीयलाई करिब २० बटा स्टल निःशुल्क प्रदान गरिने संघले जानकारी दिएको छ । महोत्सवमा बालबालिकाका लागि बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ ।
१२ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई पनि प्राथमिकताका साथ प्रवद्र्धन गर्ने लक्ष्य संघले राखेको छ । पत्रकार सम्मेलनमा संघका पदाधिकारहरुको समेत सहभागी रहेका थिए ।